सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा रोगपछि भोकको चुनौती तेर्सिएको बताएकी छिन् । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बसेको २५ औं बैठकमा विनियोजन विधेयक, २०७७ माथिको जारी छलफलका क्रममा कृषि मन्त्रालयको बजेटमाथि सभा सदस्यले उठाएका जिज्ञासाको जवाफमा मन्त्री केसीले कोभिड–१९ र पछिल्लो समयमा आइलागेको सलह सङ्कटले कर्णालीमा भोकको खतरा बढ्ने जनाइन् । कोरोना, सलह र अमेरिकी फौंजीको प्रकोपबाट नागरिकलाई बचाउन सरकार लागिपरेको उनले बताइन् ।
त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सबै जिल्लामा सन्तुलन हुने गरी आफ्नो मन्त्रालयमा रु दुई अर्ब २७ करोड ७४ लाख ८० हजार बजेट एवं खाद्य खरीद तथा भण्डारण र आपूर्तिका लागि रु ५० करोड विनियोजन गरिएको बताए ।
प्रदेशसभा सदस्य ठम्मर विष्टले ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्रीलाई’ कार्यक्रम सम्बन्धित क्षेत्रका सांसदको सहभागितामा प्रदेशका सबै स्थानीय तहमा लैजानुपर्नेमा जोड दिए । त्यसैगरी छलफलमा भाग लिने प्रदेशसभा सदस्य यज्ञ बिसी, झोवा विक, अमृता शाही र सोशिला शाहीले मङ्गलबार प्रस्तुत हुने भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट टुक्र्याएर ल्याउन प्रदेश सरकारलाई पूर्वजानकारी गराए । सभामुख राजबहादुर शाहीले यही असार २३ गते अपराह्न १ः०० बजे बस्ने २६ औंँ प्रदेशसभाको बैठकमा भौतिक र आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेटमाथि छलफल हुने जानकारी दिए ।
0 Reviews
